Nidan Media

इजरायली आक्रमणले अर्को ठूलो मानवीय क्षति, छ प्रहरीसहित १२ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ। युद्धग्रस्त गाजा पट्टीमा इजरायली आक्रमणले फेरि ठूलो मानवीय क्षति पुर्‍याएको छ। पछिल्लो आक्रमणमा छ प्रहरीसहित कम्तीमा १२ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले जनाएका छन्।

स्थानीय स्रोत र प्रत्यक्षदर्शीका अनुसार इजरायली तोपखानाले उत्तरी गाजाको बेइत लाहिया शहरस्थित कमल अदवान अस्पताल नजिकै रहेका आवासीय घरहरूलाई लक्षित गर्दै भारी गोलाबारी गरेको हो। आक्रमणपछि क्षेत्रमा त्रास, चित्कार र भागदौड मच्चिएको बताइएको छ।

घटनास्थलबाट प्राप्त चाइना ग्लोबल टेलिभिजन नेटवर्कको स्ट्रिङर फुटेजमा भावुक दृश्य देखिन्छ।

एक शोकाकुल आमाले आफ्नो प्रहरी छोराको शव अँगालेर रुँदै बिदाइ गरिरहेको दृश्यले युद्धको क्रूरतालाई झल्काएको छ।

भिडियोमा जमिनभरि शवहरू राखिएको र नजिकै अन्य प्यालेस्टिनीहरू शोकमा डुबेको देखिन्छ।

यो आक्रमण यस्तो समयमा भएको हो, जब हमासइजरायलबीच जारी तनाव र युद्धविराम सम्झौताको उल्लङ्घनबारे निरन्तर रिपोर्टहरू आइरहेका छन्।

गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार, युद्धविराम सम्झौता लागू भएको समयदेखि हालसम्म ७९१ प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने दुई हजार २३५ जना घाइते भएका छन्। लगातार भइरहेका आक्रमणहरूले युद्धविरामको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ।

यसरी बारम्बार दोहोरिने हिंसाले गाजामा मानवीय संकट झनै गहिरिँदै गएको अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गर्दै आएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.