सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ वैशाख १३ गते आइतबार, इस्वीसंवत अप्रिल २६ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको दशमी तिथि रातिमा ९ः०१ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ। नक्षत्रमा मघा रातिमा ११ः१७ बजेसम्म त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वृद्धि ४९ घटि १७ पलासम्म त्यसपछि ध्रुव योग लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा मुद्गर रहनेछ ।
सूर्य मेष राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३२ घटि ३७ पला अर्थात १३ घण्टा ०४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः३१ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने दिनमा १ः४८ बजे र अस्ताउने समय रातिमा २ः१५ बजे रहेको छ । आज विश्व वौद्धिक सम्पत्ति दिवस रहेको छ।
आजको राशिफल
मेषः आजको दिन केही सुस्त रहने देखिन्छ। शरीरमा आलस्य बढ्नाले महत्वपूर्ण कामहरू अधुरै रहनेछन्। पारिवारिक सम्बन्धमा सानो कुराले पनि ठूलो रुप लिन सक्ने देखिएको छ। आज अरूको कुरा काट्नुभन्दा आफ्नै काममा केन्द्रित हुनु उत्तम हुनेछ। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोला। विद्यार्थी वर्गका लागि आजको दिन सामान्य छ। गुरुजनको सल्लाहले नयाँ दिशा देखाउन मद्दत गर्नेछ।
वृषः आजको दिन नयाँ स्रोतबाट धन प्राप्तिको योग छ। व्यापारमा रहेकाहरूले ठूलो नाफा कमाउने अवसर पाउनेछन् । स्वास्थ्यमा निकै सुधार आउनेछ भने लामो समयदेखिको स्वास्थ्य समस्या समाधान हुनेछ। मानसिक रूपमा पनि प्रशन्न र हलुका महसुस हुनेछ। सिर्जनशील काममा मन जानेछ। रोकिएका पुराना सरकारी र प्रशासनिक कामहरू आज सम्पन्न हुनेछ। सन्तानको प्रगतिले मनमा शान्ति र खुसी दिलाउनेछ। आर्थिक दृष्टिकोणले आजको दिन निकै बलियो छ।
मिथुनः आजको दिन नयाँ सीप वा प्रविधि सिक्नका लागि निकै फलदायी रहेको छ। जटिल ठानिएका समस्या पनि समाधान हुनेछन्। आजबाट नयाँ जिम्मेवारी वा पदोन्नतिको ढोका खुल्न सक्नेछ। आकस्मिक धन लाभको सम्भावना पनि रहेको छ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। मनमा सकारात्मक सोच बढ्नाले शरीरमा पनि नयाँ ऊर्जा सञ्चार हुनेछ। बौद्धिक क्षमताको भरपूर उपयोग गर्ने दिन पनि रहेको छ। तपाईंले आफ्ना तर्क र विचारहरूबाट अरूलाई प्रभावित पार्न सक्नुहुनेछ।
कर्कटः प्रेम सम्बन्धमा अविश्वासको बादल मडारिन सक्नेछ। खुल्ला हृदयले संवाद गर्दा सबै समस्याको समाधान निस्कनेछ। विद्यार्थीहरूले अध्ययनमा थप ध्यान दिनुपर्ने अवस्था रहेको छ। वैदेशिक अध्ययनको प्रयास गरेमासमय अनुकूल छ। पारिवारिक जीवनमा केही उतारचढाव आउन सक्छ। आर्थिक रूपमा दिन मध्यम छ। व्यापारमा नयाँ लगानी गर्नुभन्दा पुरानै कारोबारलाई व्यवस्थित बनाउनु फाइदाजनक हुनेछ। मौसम परिवर्तनले रुघाखोकी जस्ता समस्या देखिन सक्ने भएकाले सतर्क रहनुहोला।
सिंहः आज सरकारी क्षेत्रबाट फाइदा हुने योग छ। आर्थिक लाभका लागि गरिएको प्रयास सफल हुनेछ। पैतृक सम्पत्तिको विवाद समाधान हुनेछ । स्वास्थ्यमा खासै समस्या देखिँदैन। यद्यपि, आँखा र टाउको दुख्ने समस्याले केही सताउन सक्छ। साँझको समय परिवारसँग बिताउँदा दिनभरिको थकान मेटिनेछ। आज अरूको कुरा काट्नु भन्दा आफ्नो कमजोरी सुधार्नमा ध्यान दिँदा राम्रो हुनेछ। नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर मिल्नेछ। समाजमा तपाईंको व्यक्तित्वको प्रभाव बढ्नेछ।
कन्याः आज अनावश्यक खर्च बढ्न सक्नेछ। आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला। ऋण लेनदेनबाट टाढै रहनु राम्रो हुनेछ। तर साथीभाइको सहयोगले मानसिक बोझ कम हुनेछ। परिवारमा मेलमिलापको वातावरण बन्नेछ। मानसिक तनावले निद्रामा समस्या पर्न सक्छ। आज स्वास्थ्यप्रति लापरवाही नगर्नुहोला। केही चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था सिर्जना हुनेछ। सोचेको काम समयमै पूरा नहुँदा केही खिन्नता महसुस हुनेछ। तर हरेस नखाई निरन्तर प्रयास गर्दा सफलता हात लाग्नेछ।
तुलाः आज नयाँ सम्बन्धहरू गाँसिने र पुराना सम्बन्ध अझ प्रगाढ हुनेछन्। व्यापार र नोकरीमा राम्रो प्रगति हुनेछ। पदोन्नति वा तलब वृद्धिको शुभ समाचार प्राप्त हुनेछ। सानो लगानीबाट पनि राम्रो प्रतिफल हात लाग्नेछ। दाम्पत्य जीवनमा मधुरता आउनेछ। जीवनसाथीको पूर्ण सहयोगले ठूला निर्णय गर्न सजिलो हुनेछ। स्वास्थ्य राम्रो रहनेछ र शरीरमा नयाँ स्फूर्ति देखिनेछ। बाहिरी क्रियाकलाप र भ्रमणमा रुचि बढ्नेछ। प्राकृतिक वातावरणमा समय बिताउनु लाभदायक हुनेछ।
वृश्चिकः आज स्वास्थ्यमा सानोतिनो समस्या देखिन सक्छ। खुट्टा वा जोर्नीमा दुखाइ महसुस हुन सक्छ। आज गरिने कामको गोपनीयतामा ध्यान दिनुहोला। आफ्ना महत्वपूर्ण योजनाहरू सबैलाई सुनाउँदा काम बिग्रन सक्छ। शान्त रहेर आफ्नो काममा केन्द्रित हुनुहोला। नोकरीमा नयाँ जिम्मेवारी थपिन सक्छ। मिहिनेत अनुसारको जस नपाउँदा केही असन्तुष्टि भने अवश्य हुनेछ । विद्यार्थीहरूले पढाइमा बढी मिहिनेत गर्नुपर्ने दिन रहेको छ। आज उपहार वा अचानक धन लाभ हुने सम्भावना पनि रहेको छ।
धनुः आजको दिन निकै रोचक रहनेछ। सन्तानको प्रगतिले गौरव महसुस हुनेछ भने परिवारमा पनि खुसीको सञ्चार हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। शारीरिक व्यायाम र योगाभ्यासले थप ऊर्जा प्रदान गर्नेछ। ऋाज अनावश्यक यात्राबाट जोगिनुहोला। बाटो काट्दा वा सवारी चलाउँदा विशेष ध्यान दिनुहोला। धैर्यतापूर्वक काम गर्दा सबै समस्या समाधान हुनेछन्। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोला।
मकरः आज आम्दानी र खर्चको सन्तुलन मिलाउन आवश्यक छ। नयाँ व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ भने दिन उत्तम रहेको छ। घरजग्गा सम्बन्धी काममा फाइदा हुनेछ। स्वास्थ्य सामान्य रहे पनि मानसिक थकान महसुस हुन सक्छ। धर्म–कर्म र सामाजिक कार्यले मनलाई शान्ति दिनेछ। आज कसैसँग रुखो वचन नबोल्नुहोला। तपाईंको साहस र धैर्यताको सबैले प्रशंसा गर्नेछन् भने आर्थिक क्षेत्र स्थिर रहनेछ।
कुम्भः आज लामो समयदेखि अड्किएका मुद्दाहरू सुल्झने सम्भावना रहेको छ। यात्राको योग देखिन्छ, यात्राले मनोरञ्जन दिलाउनेछ। स्वास्थ्य राम्रो रहनेछ। खेलकुद र साहसिक कार्यमा रुचि बढ्नेछ। शरीरमा नयाँ ऊर्जा र जोसको सञ्चार हुनेछ। बोलिको मधुरताले गर्दा रोकिएका कामहरू पनि बन्नेछन्। रोकिएका कामहरूले तीव्रता पाउनेछन्। दाजुभाइ र सहयोगीहरूको पूर्ण समर्थन मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईंको सक्रियता बढ्नेछ।
मीनः आज प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्दा सावधानी अपनाउनुहोला। आफ्नो कामको गुणस्तरमा ध्यान दिन सकिनेछ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। स्वास्थ्यमा भने केही कमजोरी महसुस हुनेछ। आफ्नो गल्तीलाई स्वीकार गरेर अघि बढ्दा राम्रो हुनेछ। जिद्दी गर्ने बानीले आफ्नै नोक्सानी हुन सक्ने देखिन्छ। नयाँ व्यवसायमा लगानी गर्नुअघि निकै विचार गर्नुहोला । व्यापारमा मध्यम फल मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।
साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः३८ बजेदेखि ७ः१४ बजेसम्म उद्धेग बेला
बिहान ७ः१४ बजेदेखि ८ः५१ बजेसम्म चर बेला
बिहान ८ः५१ बजेदेखि १०ः२७ बजेसम्म लाभ बेला
बिहान १०ः२७ बजेदेखि १२ः०३ बजेसम्म अमृत बेला
मध्यान्हमा १२ः०३ बजेदेखि १ः४० बजेसम्म काल बेला
दिनमा १ः४० बजेदेखि ३ः१६ बजेसम्म शुभ बेला
दिनमा ३ः१६ बजेदेखि ४ः५२ बजेसम्म रोग बेला
दिनमा ४ः५२ बजेदेखि ६ः२८ बजेसम्म उद्धेग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः२८ बजेदेखि ७ः५२ बजेसम्म चर बेला
साँझ ७ः५२ बजेदेखि ९ः१६ बजेसम्म लाभ बेला
राति ९ः१६ बजेदेखि १०ः३९ बजेसम्म अमृत बेला
राति १०ः३९ बजेदेखि १२ः०३ बजेसम्म काल बेला
राति १२ः०३ बजेदेखि १ः२६ बजेसम्म शुभ बेला
राति १ः२६ बजेदेखि २ः५० बजेसम्म रोग बेला
रातिमा २ः५० बजेदेखि ४ः१४ बजेसम्म उद्धेग बेला
रातिमा ४ः१४ बजेदेखि ०५ः३७ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





