Nidan Media

कांग्रेसमा बृहत् एकताका लागि तुरुन्त पहल गर्न गगन थापालाई आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले पार्टी कमजोर बन्दै गएको निष्कर्षसहित बृहत् एकताको पहल तत्काल गर्न आग्रह गरेका छन्।

आइतबार काठमाडौँमा १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरूको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उनले पार्टीभित्रको आन्तरिक विवाद, सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको निर्णयबारे समीक्षा गरिएको बताएका छन्।

विश्वकर्माले अदालतको आदेशप्रति सम्मान जनाउँदै नेपाली कांग्रेसले त्यसलाई मान्ने स्पष्ट पारेका छन्। तर अदालतको फैसला र आयोगको निर्णय संविधान, कानून तथा पार्टी विधानसँग बाझिने देखिएको भन्दै गम्भीर असहमति रहेको बताएका छन्।

उनका अनुसार छलफलमा अदालतको आदेश कार्यान्वयन गर्ने तर असहमति पनि स्पष्ट रूपमा राख्ने निष्कर्ष निकालिएको छ। साथै आवश्यक परे फैसलाविरुद्ध पुनरावलोकनमा जाने विषयमा समेत सुझाव आएको उनले बताएका छन्।

उनले नेपालको पुरानो र ठूलो लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस अहिले कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै पार्टीलाई पुनः मजबुत बनाउन बृहत् एकता अपरिहार्य भएको बताएका छन्।

विश्वकर्माले गगन थापा नेतृत्वको कार्यसमितिले एकताको पहल तुरुन्त थाल्नुपर्नेमा जोड दिएका छन्। ढिलाइ भए पार्टीलाई गम्भीर क्षति पुग्न सक्ने चेतावनीसमेत दिएका छन्।

उनका अनुसार अब छिट्टै निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्यहरूको काठमाडौँमा बैठक बस्नेछ।

त्यसपछि प्रदेश र जिल्ला तहमा चरणबद्ध छलफल गर्दै अन्ततः बृहत् राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.