मोरङ । नयाँ वर्षको शुरूआतसँगै कोशी प्रदेशका तराई जिल्लाहरू यतिबेला सिरुवा पर्वको उत्साहमा डुबेका छन् ।
झापा जिल्ला, मोरङ जिल्ला र सुनसरी जिल्लाका गाउँ–बस्तीहरूमा पानी, हिलो र रङको खेलले सांस्कृतिक जीवन्तता झल्किएको छ भने प्रदेश सरकारले दिएको सार्वजनिक बिदाले पर्वको रौनक अझ बढाएको छ ।
राजवंशी, थारु, ताजपुरिया, धिमाल, मेचे, गनगाई, माझीलगायतका आदिवासी समुदायहरूले परम्परागत विधि, पूजा-पाठ र आपसी सद्भावसहित सिरुवा मनाइरहेका छन् ।
नयाँ वर्षसँगै शुरू हुने यो पर्व मनोरञ्जनमा मात्र सीमित छैन, बरु प्रकृति, शरीर र समाजबीच सन्तुलन कायम गर्ने गहिरो सन्देश बोकेको सांस्कृतिक अभ्यासका रूपमा स्थापित भएको देखिन्छ ।
जुरशीतलका नामले समेत चिनिने सिरुवा तीन दिनसम्म मनाइने पर्व हो । पहिलो दिन ‘पानी सिरुवा’मा बिहानैदेखि पानी छ्याप्ने, हाँसो–ठट्टा गर्ने र शुभकामना साटासाट गर्ने गतिविधिले गाउँ-बस्तीहरू जीवन्त बन्छन् ।
झापाको गौरिगञ्जदेखि मोरङ र सुनसरीका विभिन्न स्थानहरूमा युवादेखि वृद्धसम्मको सहभागिताले सामुदायिक एकताको सशक्त सन्देश दिएको छ ।
दोस्रो दिन ‘काद सिरुवा’ अर्थात् हिलो खेल्ने परम्परा मनाइन्छ । खेतबारी वा खुला स्थानमा जम्मा भएर एकअर्कालाई हिलो छ्याप्ने चलनले पृथ्वीसँगको सम्बन्धलाई प्रतीकात्मक रूपमा झल्काउँछ । यसलाई शरीर शुद्ध गर्ने र स्वास्थ्यका लागि लाभदायक मानिने विश्वास पनि रहिआएको छ ।
तेस्रो दिन ‘रङ सिरुवा’सँगै पर्व समापन हुन्छ । विभिन्न रङहरूको प्रयोग, सामूहिक नाचगान, बाजागाजा र स्थानीय परिकारले गाउँ-बस्तीहरूलाई अझ रंगीन बनाउँछन् । यस दिनलाई नयाँ वर्षलाई उल्लासपूर्ण स्वागत गर्ने अवसरका रूपमा लिइन्छ ।
सिरुवा धार्मिक र सांस्कृतिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । घरघरमा कुलदेवता र ग्रामदेवताहरूको पूजा गरिन्छ भने अग्रजहरूले परिवारका सदस्यलाई पानी राखेर ‘शीतलता र शान्ति’को आशीर्वाद दिने परम्परा अझै जीवित छ । महिलाहरूले घाटोसरी पूजा गर्ने चलन पनि निरन्तर रहेको छ ।
पर्वको अर्को विशेषता चुलो पूजा हो । वर्षमा एक दिन चुलोलाई विश्राम दिने मान्यताअनुसार बेलुकाको खाना नपकाइ दिनमै बनाइएको भोजन खाने चलनले श्रमप्रति सम्मान र प्रकृतिप्रति कृतज्ञताको सन्देश दिन्छ ।
सिरुवासँगै पूर्वी तराईका विभिन्न स्थानमा मेला र महोत्सवहरूको चहलपहल पनि बढेको छ । झापाको कमल गाउँपालिका, मंगलबारे तथा मोरङको सुनवर्षी क्षेत्रमा स्थानीय परिकार, हस्तकला र सांस्कृतिक प्रस्तुति सहितका मेलाहरूले आकर्षण बढाएका छन् ।
यो पर्व नेपालभित्र मात्र सीमित छैन, भारतका आसाम, मेघालय, पश्चिम बंगाल र कोचबिहारसम्म फैलिएको समान सांस्कृतिक पृष्ठभूमिले सीमापारिको सम्बन्धलाई समेत सुदृढ बनाएको छ ।
यसैबीच, कोशी प्रदेश सरकारले वैशाख २ गते सार्वजनिक बिदा घोषणा गरेको छ । सरकारी कार्यालय, शैक्षिक संस्था र विभिन्न निकायहरू बन्द रहे पनि गाउँ–बस्तीहरू भने उत्सवमा रमाएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा (जुडशीतल)को अवसरमा शुभकामना व्यक्त गर्दै पर्वले आपसी सद्भाव, मेलमिलाप र सांस्कृतिक एकताको सन्देश दिने बताएका छन् ।
उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता पर्वहरूले सामाजिक एकता सुदृढ बनाउने धारणा राख्दै प्रदेश सरकारले सबै समुदायको संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्दै आएको बताएका छन् ।
वसन्त ऋतुको आगमन, नयाँ वर्षको सुरुवात र नयाँ आशाको प्रतीकका रूपमा मनाइने यस पर्वले समाजमा सहिष्णुता र न्यानोपन फैलाउने विश्वास गरिएको छ । सिरुवा पर्वले पानी, माटो र रङजस्ता प्राकृतिक तत्वमार्फत मानिसलाई प्रकृतिसँग जोड्ने सन्देश दिँदै आएको छ ।
कोशी प्रदेशभर देखिएको उत्साहले यसको सांस्कृतिक जीवन्तता दीर्घकालसम्म कायम रहने संकेत दिएको स्थानीय अगुवाहरूले बताएका छन् ।





