काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरू पार्टीको सदस्य नरहने चेतावनी दिएका छन् । शेरबहादुर देउवा पक्षले उक्त प्रक्रिया अघि नबढाउने अडान लिइरहेका बेला सभापति थापाले यस्तो चेतावनी दिएका हुन् ।
मंगलबार काठमाडौँ वडा नं. ३० स्थित पार्टीको वडा कार्यालयमा पुगेर क्रियाशील सदस्यता अध्यावधिकका लागि निवेदन दिएलगत्तै उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो काममा अवरोध नगर्न पार्टी पंक्तिलाई सचेत गराए ।
थापाले पार्टीको विधानअनुसार सदस्यता अध्यावधिक प्रक्रिया शुरू गरिएको उल्लेख गर्दै सबै नेता तथा कार्यकर्तालाई आ-आफ्नो वडा कार्यालयमा पुगेर अनिवार्य रूपमा प्रक्रिया पूरा गर्न निर्देशन दिएका छन्।
उनले सदस्यता अध्यावधिकलाई लिएर भ्रम फैलाउने, अनावश्यक कोलाहल मच्चाउने र ‘सदस्यता खोसिने’ जस्ता हल्ला चलाउने कार्य नगर्न पनि आग्रह गरे ।
उनले क्रियाशील सदस्यताको निरन्तरताका लागि अध्यावधिक आवश्यक र विधानसम्मत रहेको भन्दै कसैले सदस्यता अध्यावधिक नगर्ने अडान लिएमा त्यस्ता व्यक्ति स्वतः पार्टीको क्रियाशील सदस्य नरहने स्पष्ट पारे ।
सभापति थापाले वैशाख १५ गतेभित्र सबैले आफ्नो वडा कार्यालयमा पुगेर सदस्यता अध्यावधिक गरिसक्नुपर्ने समयसीमा पनि तोकेका छन् ।
विदेशमा रहेका वा विशेष कारणले उपस्थित हुन नसक्नेहरूका लागि पार्टीले विशेष व्यवस्था गर्ने उनले जानकारी दिए ।
सदस्यता प्रक्रियाबारे अन्योल भएमा पार्टीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न र सम्बन्धित जिम्मेवार पदाधिकारीमार्फत जानकारी लिन पनि उनले आग्रह गरे ।
सभापति थापाले पार्टीको निरन्तरता र सुदृढीकरणका लागि सबै नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता अनिवार्य रहेको दोहोर्याउँदै विधान पालना गर्नु सबैको दायित्व भएको बताए ।





