काठमाडौँ। ज्ञानेन्द्र शाह ले राज्य सञ्चालन र राजनीतिमा युवा पुस्ताको बढ्दो संलग्नता उत्साहजनक भएको बताएका छन्।
नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शिक्षित, देश बुझेका र प्रविधिमा दक्ष युवाको सक्रियताले राष्ट्रलाई प्रगतिपथमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।
पूर्वराजा शाहले विगतका कमजोरी र त्रुटिहरू सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले पछिल्ला वर्षहरूमा देश अपेक्षित विकासको साटो पछाडि धकेलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
राजनीतिक तथा प्रशासनिक प्रणालीमा गरिएका परिवर्तनहरू सतही मात्र बनेको टिप्पणी गर्दै दलीय खिचातानीका कारण राष्ट्रको समृद्धि ओझेलमा परेको बताए।
उनले वर्तमान आर्थिक अवस्थालाई सुधार गर्न छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। साथै आन्तरिक सुरक्षा कमजोर हुँदा नागरिकले असुरक्षा र अभाव झेल्नुपरेको उल्लेख गर्दै सुरक्षा संयन्त्रलाई चुस्त बनाउनेतर्फ राज्यको ध्यानाकर्षण गराए
परनिर्भरता घटाएर आत्मनिर्भर र स्वाधीन बन्नुपर्नेमा जोड दिँदै उनले देशका स्रोत–साधनको उचित उपयोग, संस्कृति र मौलिकताको संरक्षणमार्फत राष्ट्रको गौरव बढाउन सकिने बताए।
निषेध, द्वन्द्व र प्रतिशोधले देशलाई कमजोर बनाउने उल्लेख गर्दै उनले संवाद, सहमति र सहकार्यका माध्यमबाट संवैधानिक समाधान खोज्न सबै पक्षलाई आह्वान गरे।
नेपाललाई शान्ति र प्रगतिको मुलुकका रूपमा स्थापित गर्ने आकांक्षा व्यक्त गर्दै उनले सबै नेपालीले न्याय, शान्ति र समृद्धि पाउने कामना गरे।




