Nidan Media

हिन्द महासागर क्षेत्रसँग सम्बन्ध सुदृढ गर्ने अवसर पाएको शिशिर खनालको दाबी

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन्। २७ र २८ चैतमा पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागी हुन मौरिसस गएका मन्त्री खनाल सोमबार नेपाल फर्किएका हुन्।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्मेलनका क्रममा क्षेत्रीय सहकार्य पुनर्संरचना, समावेशी तथा नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीहरूको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्वित प्रयासमा जोड दिएको बताए।

उनले भूपरिवेष्टित मुलुकका रूपमा नेपालको विशिष्ट सरोकार अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्दै समुद्री पहुँच र क्षेत्रीय साझेदारीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा प्रस्तुत गरेको जानकारी दिए।

“नेपाललाई हिन्द महासागर क्षेत्रसँग कूटनीतिक, आर्थिक र रणनीतिक सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण अवसर प्राप्त भएको छ,” उनले भने।

मन्त्री खनालका अनुसार वर्तमान भूराजनीतिक परिवेशमा नेपालको सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसरसमेत मिलेको छ।

सम्मेलनको अवसरमा उनले विभिन्न देशका समकक्षीहरूसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए।

यस क्रममा एस जयशंकरसहित भारत, भुटान, बंगलादेश, सिंगापुर, मौरिसस र तान्जेनियाका विदेशमन्त्रीहरूसँग द्विपक्षीय विषयमा छलफल भएको उनले बताए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.