काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारमाथि छेडखानी भए सडक र सदन दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेशद्वारा नयाँ वर्ष २०८३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनअधिकार खोस्ने कुनै पनि प्रयास सह्य नहुने बताएका छन् ।
प्रचण्डले वर्तमान सरकार (राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको) ले रचनात्मक काम गरे सकारात्मक सहयोग रहने स्पष्ट पारेका छन् । तर संविधानमाथि हस्तक्षेप, राष्ट्रिय हितमा आँच र जनअधिकार हनन भए कडा प्रतिवाद गरिने उनको भनाइ छ ।
संविधान संशोधनबारे बोल्दै प्रचण्डले आफूहरू संशोधनको विपक्षमा नरहेको तर संशोधन जनताको अधिकार विस्तार, महिला, दलित तथा उत्पीडित वर्गको सशक्तीकरण र संघीयता मजबुत बनाउन केन्द्रित हुनुपर्ने बताए ।
उनले हालै सम्पन्न निर्वाचनलाई ‘असामान्य र असाधारण’ भन्दै त्यसको समीक्षा भइरहेको बताएका छन् ।
साथै प्रचण्ड पार्टी एकीकरण प्रक्रिया केही दिनमै तल्लो तहसम्म टुंग्याउने र छ महिनाभित्र महाधिवेशन गर्ने प्रतिबद्धता दोहोर्याए ।
प्रचण्डले जनवर्गीय संगठन र विभागहरूको एकीकरणपछि देशभर एउटै वैचारिक धारमा प्रशिक्षण सञ्चालन गरिने उल्लेख गरेका छन् ।
उनले कार्यकर्तालाई आत्मसमीक्षासहित जनतामाँझ फर्किन निर्देशन दिए ।
प्रचण्डले माधवकुमार नेपालसँगको विगतको सहकार्य स्मरण गर्दै शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा संयुक्त संघर्षको योगदान उल्लेख गरे ।
प्रचण्डले १२ बुँदे समझदारी र शान्ति प्रक्रियाका सहयात्री शक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।





