काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आकांक्षा पूरा गर्न नागरिक केन्द्रित जनकल्याणकारी कानून निर्माण आवश्यक रहेको बताएका छन्।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले निर्माण भएका कानूनहरूको प्रभावकारी र परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सकेमात्रै परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति साँचो अर्थमा सम्मान हुने बताएका छन्।
उनले जनताको चाहना अनुसार संसदले नागरिक केन्द्रित जनकल्याणकारी कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
साथै निर्माण भएका कानूनको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनुपर्ने धारणा पनि उनले व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीप्रति युवा पुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको बताएका छन्।
उनका अनुसार जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सबै तहमा भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना चाहेका छन्।
साथै देशभित्रै रोजगारी सिर्जना र सामाजिक-आर्थिक विकासप्रति जनताको अपेक्षा रहेको उनले बताएका छन्।
राष्ट्रपतिले पछिल्लो समय युवा पुस्ताबाट भएका आन्दोलनहरूले पनि यिनै भावना र चाहनाहरू प्रकट गरेको उल्लेख गर्दै सरकारलाई जनताको अपेक्षाअनुसार काम गर्न आग्रह गरेका छन्।





