Nidan Media

उपसभामुखमा राप्रपाका सरस्वती र श्रम संस्कृतिकी रुविकुमारीको उम्मेद्वारी

काठमाडौँ। प्रतिनिधि सभाको उपसभामुख प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले उम्मेद्वारी दर्ता गराएकी छन्।

लामाले राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्वु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेद्वारी दर्ता गराएकी हुन् । उनी नेता बुद्धिमान तामाङकी पत्नी हुन् र समानुपातिक सांसद रहिसकेकी छन्।

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले रास्वपा सभापति रवि लामिछानेले फोन गरेर उपसभामुख पदमा उम्मेद्वारी दिन र रास्वपाको समर्थन रहने जानकारी दिएको दावी गरेका छन्।

नेता शाहीका अनुसार, “रास्वपा सभापतिजीले फोन गरेर उपसभामुख पदमा तपाईंहरू उम्मेद्वारी दिनुस्, हाम्रो समर्थन रहन्छ भन्नुभएको छ।”

यता, श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरले पनि उपसभामुखमा उम्मेद्वारी दर्ता गराएकी  छन् । उनलाई पनि सत्तारुढ दल रास्वपाले समर्थन गरेको दाबी गरिएको छ।

प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले भने श्रम संस्कृतिको उम्मेद्वार ठाकुरलाई समर्थन गर्ने भएका छन्।

नेपाली कम्युनिस्ट पार्टी भने अहिलेसम्म कसको समर्थन गर्ने भन्ने निर्णय गरेको छैन।

नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले कांग्रेस र एमालेले उपसभामुखमा उम्मेद्वारी नदिने भएपछि श्रम संस्कृतिको समर्थन गर्ने विषयमा छलफल भएको बताए।

संसदमा स्पष्ट बहुमत भएको रास्वपाको समर्थन पाउने उम्मेद्वार निर्वाचित हुनेछन्।

प्रतिनिधि सभामा श्रम संस्कृति र राप्रपा प्रतिपक्षी दल हुन्। श्रम संस्कृतिका सात र राप्रपाका पाँच जना सांसद छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.