काठमाडौँ। प्रतिनिधि सभाको उपसभामुख प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाउने निश्चित भएको छ ।
संसदमा झण्डै दुई तिहाई बहुमत सदस्य रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने भएसँगै राप्रपाले उपसभामुख पाउने निश्चित भएको हो ।
रास्वपा सभापति रवि लामिछानेले फोन गरेर उपसभामुख पदमा उम्मेद्वारी दिन र रास्वपाको समर्थन रहने जानकारी दिएको राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए।
नेता शाहीका अनुसार, “रास्वपा सभापतिजीले फोन गरेर उपसभामुख पदमा तपाईंहरू उम्मेद्वारी दिनुस्, हाम्रो समर्थन रहन्छ भन्नुभएको छ।”
संविधानत: रास्वपा उपसभापति डोलप्रसाद अर्याल निर्विरोध सभामुख बनेकोले रास्वपाबाट उपसभामुख मिल्दैन। त्यसैले रास्वपा राप्रपालाई समर्थन गर्न लागेका हुन्।
राप्रपाबाट उपसभामुखका लागि सरस्वती लामाले उम्मेद्वारी दर्ता गराएकी छन्। उनी नेता बुद्धिमान तामाङकी पत्नी हुन् र समानुपातिक सांसद रहिसकेकी छन्।
लामाले राप्रपा संसदीय दलका नेता शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्वु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेद्वारी दर्ता गराएकी हुन् ।
यता, श्रम संस्कृति पार्टीले पनि हर्क साम्पाङको नेतृत्वमा उपसभामुखका लागि उम्मेदवारी दर्ता गरिसकेको छ। प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले श्रम संस्कृतिको उम्मेद्वारलाई समर्थन गर्ने तयारी गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी भने अहिलेसम्म कसको समर्थन गर्ने भन्ने निर्णय गरेको छैन।
नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले कांग्रेस र एमालेले उपसभामुखमा उम्मेद्वारी नदिने भएपछि श्रम संस्कृतिको समर्थन गर्ने विषयमा छलफल भएको बताए।
उपसभामुखको उम्मेद्वारी दर्ता आज दिउँसो २ बजेसम्म हुनेछ भने निर्वाचन शुक्रबार हुनेछ।
संसदीय बहुमत भएको रास्वपाको समर्थन पाउने उम्मेद्वार निर्वाचित हुने पक्का छ।
यसअघि रास्वपा भित्र सभापति रवि लामिछानेले राप्रपालाई, सभामुख बनेका डोलप्रसाद अर्यालले नेकपालाई र प्रधानमन्त्री वालेन्द्र साहले श्रम संस्कृतिलाई सघाउने चर्चा बाहिरिएको थियो ।





