Nidan Media

ओली र लेखक जिम्मा जमानीमा रिहा

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको १३औँ दिनमा जिम्मा जमानीमा रिहा भएका छन्।

अध्यक्ष ओली गत चैत १४ गते भक्तपुरको बालकोटस्थित निवासबाट पक्राउ परेका थिए। हिरासतमा रहँदा स्वास्थ्य समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको थियो।

सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नदेखिएको भन्दै उनलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो।

अदालतको आदेशअनुसार ओलीलाई अस्पतालबाटै घर जान अनुमति दिइएको छ र उनी आवश्यक परे अनुसन्धानमा उपस्थित हुनेछन्।

त्यसैगरी, पूर्व गृहमन्त्री लेखक पनि गत चैत १४ गते पक्राउ परेका थिए। उनलाई गत भदौमा काठमाडौँमा भएको प्रदर्शनका क्रममा बल प्रयोग र मानवीय क्षतिको विषयमा छानबिन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा राखिएको थियो।

सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै हिरासतमा राखिरहन आवश्यक नदेखिएको ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा उनलाई पत्नी यशोदा लेखक को जिम्मामा थुनामुक्त गरिएको छ। दुवै नेताले आवश्यक परेका बखत अनुसन्धानमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.