काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगी ले भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेशसम्बन्धी ‘डे–पास’ व्यवस्थाको दुरुपयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले एक दिनको भन्सार ‘डे-पास’ लिएर नेपाल प्रवेश गर्ने सवारीहरू नियमविपरीत नेपालमै सञ्चालन भइरहेको बताइन्।
उनका अनुसार यस्ता सवारीहरू फिर्ता नजाने मात्र होइन, निजी तथा सार्वजनिक दुवै प्रयोजनमा प्रयोग भइरहेका छन्।
उनले भनिन्, “नियमअनुसार एक दिनको ‘डे-पास’ लिएर प्रवेश गरेका सवारीहरू फिर्ता जानुपर्ने हो, तर व्यवहारमा ती सवारीहरू नेपालमै सञ्चालन भइरहेका छन्।”
सांसद डाँगीले यस्तो प्रवृत्तिले उच्च भन्सार तिरेर सञ्चालनमा रहेका नेपाली नम्बर प्लेटका सवारी साधनमा प्रत्यक्ष असर परेको उल्लेख गरिन्।
उनका अनुसार भारतीय सवारी साधनको अव्यवस्थित सञ्चालनले नेपाली यातायात व्यवसायीहरू दबाबमा परेका छन् र आर्थिक रूपमा समेत संकट झेल्न बाध्य भएका छन्।
उनले यो समस्या कुनै एक क्षेत्रको मात्र नभई देशभरका सीमा क्षेत्रमा देखिएको बताइन्। “प्रत्येक सीमा क्षेत्रमा भारतीय सवारी साधनका कारण नेपाली व्यवसायीहरू संकटमा छन्,” उनले भनिन्।
सांसद डाँगीले दुर्घटनाको अवस्थामा समेत समस्या जटिल बन्ने गरेको उल्लेख गरिन्। भारतीय नम्बर प्लेटका सवारी साधन संलग्न दुर्घटनामा क्षतिपूर्ति पाउन कठिनाइ हुने गरेको उनको भनाइ छ।
उनले सरकारसँग तत्काल प्रभावकारी निगरानी र कडाइ गर्न माग गरिन्। ‘डे-पास’ व्यवस्थाको दुरुपयोग रोक्न स्पष्ट नीति कार्यान्वयन, सीमामा कडाइ र निगरानी प्रणाली सुदृढ गर्न आवश्यक रहेको उनले जोड दिइन्।
सांसद डाँगीले सीमा क्षेत्रको यातायात व्यवस्थापन, राजस्व संरक्षण र स्थानीय व्यवसायीको संरक्षणका लागि ‘डे-पास’ प्रणालीको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको औँल्याएकी छन्।




