काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद रोकायालाई सभापतिमा चयन गरेको हो । बैठक कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको थियो ।
ज्येष्ठ सदस्य सिटौलाले रोकायालाई समितिको सभापति चयन गर्ने प्रस्ताव पेस गरेका थिए, जुन सर्वसम्मतिले पारित भएको हो ।
निर्वाचित भएपछि रोकायाले कसैप्रति आग्रह नराखी पार्टीभन्दा माथि उठेर समिति र राष्ट्रिय सभाको गरिमा बढाउने गरी निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले आफ्नो कार्यकालमा सबै सदस्यको विश्वासलाई सम्मान गर्दै विधायन प्रक्रियालाई थप प्रभावकारी र गरिमामय बनाउने बताएका छन् ।




