Nidan Media

कानून, कार्य सञ्चालन नियमावली र प्रचलित अभ्यासका आधारमा संसद बैठक अघि बढाउने सभामुखको प्रतिबद्धता

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनताले मतमार्फत दिएको पाँच वर्षको प्रतिनिधित्व जिम्मेवारी केवल अधिकार नभई गहिरो उत्तरदायित्व पनि भएको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले ‘जेन-जी आन्दोलन’ मा भएको त्याग, बलिदान र संघर्षकै परिणामस्वरूप वर्तमान परिवर्तन सम्भव भएको उल्लेख गर्दै त्यसको सम्मान गर्दै जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए।

“जनताले हामीलाई ठूलो भरोसा गरेर पाँच वर्षका लागि प्रतिनिधित्व गर्ने जिम्मेवारी सुम्पिएका छन्। यो केवल अधिकार होइन, गहिरो उत्तरदायित्व पनि हो,” उनले भने।

सभामुख अर्यालले संसदलाई मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै विद्यमान कानुन, कार्यसञ्चालन नियमावली र स्थापित अभ्यासका आधारमा बैठक अघि बढाइने स्पष्ट पारे।

नयाँ प्रतिनिधिसभा गठन भएसँगै कार्यसञ्चालन नियमावली मस्यौदा समिति तत्काल गठन गरिने जानकारी दिँदै उनले उक्त समितिमा सबै राजनीतिक दलको सहभागिता रहने बताए।

बैठकलाई प्रभावकारी र सहज बनाउन सांसदहरूको सुझाव आवश्यक रहेको उल्लेख गर्दै उनले नियमावलीको पूर्ण पालना गर्नु र गराउनु सबैको कर्तव्य भएको धारणा राखे। साथै, संसद सञ्चालनका क्रममा उत्पन्न हुने कठिनाइ समाधान गर्न आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

सभामुख अर्यालले संसदलाई देशको व्यवस्थापकीय अंगका रूपमा उल्लेख गर्दै संघीय कानुन निर्माणको महत्वपूर्ण जिम्मेवारी रहेको स्मरण गराए। उनका अनुसार विद्यमान कतिपय ऐन–कानुन पुराना, निष्क्रिय र एकआपसमा बाझिएका अवस्थामा छन्। त्यसैले नयाँ कानुन निर्माणअघि यस्ता कानुनको गम्भीर समीक्षा गरी सुधारसहित अघि बढ्न आवश्यक रहेको उनले बताए।

समग्रमा उनले संसदलाई अनुशासन, मर्यादा र जिम्मेवारीका साथ सञ्चालन गर्दै जनताको अपेक्षा पूरा गर्न सबै पक्षलाई सहकार्य गर्न आग्रह गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.