Nidan Media

आगोको झिल्को जति सानो भए पनि आगोकै झिल्को हो, रोक्ने दुस्साहस नगर्न सांसद केसीको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आगोको झिल्को जति सानो भए पनि आगोकै झिल्को भएकाले रोक्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बाल्दै सांसद केसीले सत्ता पक्ष रास्वपालाई सांकेतिक रुपमा यस्तो चेतावनी दिएका हुन्।

उनले प्रतिनिधि सभाको इतिहासमा दोस्रो पटक यतिठूलो भीमकाय आकार रास्वपाको भएको भन्दै भीमकाय आकारले मात्रै केही गर्न नसक्ने र सानै भए पनि प्रतिपक्ष प्रतिपक्ष नै हुने र कमजोर नआक्न आग्रह गरे।

साथै उनले संसद्को आकस्मिक समयमा बोल्न सांसदले पहिले नै नाम टिपाउनुपर्ने व्यवस्था परिवर्तन गरिनुपर्नेमा जोड दिएका छन् ।

उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा तत्काल जानकारी गराउन नाम नटिपाई बोल्न पाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘आकस्मिक समयलाई पनि अगाडि गएर टिपाउनुपर्ने परम्परा सदनमा यसअघि स्थापित भएको छ, त्यो परिवर्तन हुनुपर्छ। आकस्मिक समय भनेको सांसदको विशेषाधिकार हो, प्रधानमन्त्री बोल्दाबोल्दै भए पनि हात उठाएर बोल्न पाउनुपर्छ ।’

यसैगरी उनले लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यसको प्रभावकारी र रचनात्मक उपस्थितिले लोकतन्त्रलाई जीवन्त बनाउने बताए । उनले केही स्थापित संसदीय मान्यताहरू परिवर्तन गर्न आवश्यक रहेको पनि औंल्याए ।

उनले संसदले पक्ष–विपक्षभन्दा माथि उठेर सबै धारणा र मान्यतालाई समेट्दै निष्कर्षमा पुग्नुपर्ने आवश्यकता रहेको बताए । साथै, सभामुखले पनि यसतर्फ विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

‘लोकतन्त्र वाद–प्रतिवाद र संवादको प्रक्रिया हो । फरक–फरक विचारबीच कहिलेकाहीँ तिक्तता उत्पन्न भए पनि त्यसैबाट निस्कने सार नै लोकतन्त्रको सुन्दर पक्ष हो,’ उनले भने ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.