Nidan Media

फेवाताल जग्गा प्रकरणमा आफैं ठगिएको गृहमन्त्री गुरुङ दाबी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पोखराको फेवाताल किनारको जग्गा प्रकरणमा आफू नै ठगीमा परेको बताएका छन्।

फेवाताल आसपासको अतिक्रमित जग्गामा बनेका संरचना हटाउने अभियान पोखरा महानगरपालिका सँग मिलेर सञ्चालन भइरहेका बेला उनले लिजमा लिएको जग्गासमेत मापदण्डभित्र परेको खुलेको हो।

गुरुङका अनुसार जग्गा लिँदा जग्गाधनीहरूले उक्त क्षेत्र ६५ मिटर मापदण्डभित्र नपर्ने भनी झुक्याएका थिए।

लालपूर्जामा समेत सुरक्षित देखाइए पनि पछि महानगरबाट बुझ्दा सो जग्गा मापदण्डभित्रै पर्ने तथ्य फेला परेको उनले बताए।

उनले भने, “जग्गा भाडामा लिनुअघि हामीलाई यो क्षेत्र मापदण्डभन्दा बाहिर रहेको भनेर विश्वास दिलाइएको थियो, तर पछि बुझ्दा त्यो गलत सावित भयो।”

करिब ८/१० वर्षअघि साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने योजनामा गुरुङसहित तीन युवा उद्यमी संलग्न थिए।

तर आफूहरूलाई झुक्याइएको थाहा पाएपछि तत्कालै निर्माण कार्य र लगानी रोकिएको उनले बताए।

“हामीलाई ठगिएको थाहा पाउनेबित्तिकै नैतिकताका आधारमा सम्पूर्ण काम रोकेका थियौँ। हाम्रो लगानी र सपनामाथि खेलबाड भएको छ, जुन स्वीकार्य छैन,” उनले भने।

गुरुङले उक्त प्रकरणमा संलग्न जग्गाधनीविरुद्ध कानूनी उपचार खोज्ने तयारी भइरहेको जानकारी दिएका छन्।

“हामीमाथि भएको ठगीविरुद्ध कडा कानुनी प्रक्रियामा जानेछौँ,” उनले भने।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.