काठमाडौँ । इन्डियन प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा चेन्नई सुपर किंग्स (सीएसके) ले लगातार तेस्रो हार व्यहोरेको छ।
चिन्नास्वामी स्टेडियममा भएको खेलमा घरेलु टोली रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी) ले चेन्नईलाई ४३ रनले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा २५० रनको विशाल योगफल तयार पार्यो, जुन यस सिजनकै उच्च स्कोर बनेको छ। जवाफी ब्याटिङमा उत्रिएको सीएसकेले २० ओभरमा २०७ रन मात्र बनाउन सक्यो।
बैंगलुरूको जितमा टिम डेभिडले विस्फोटक प्रदर्शन गर्दै २५ बलमा ८ छक्कासहित ७० रन बनाए। कप्तान रजत पाटीदारले ४८ रन योगदान गर्दा फिल साल्टले ४६, देवदत्त पडिक्कलले ५० र विराट कोहलीले २८ रन जोडे।
बलिङतर्फ चेन्नईका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए। यसै खेलमार्फत उनले आईपीएलमा आफ्नो २०० विकेट पूरा गरेका छन्। साथै अभिनन्दन सिंह, ज्याकोब डफी र क्रुणाल पाण्ड्याले २-२ विकेट हात पारे।
लक्ष्य पछ्याउने क्रममा चेन्नईका लागि प्रशान्त वीरले ४३ रन र जेमी ओभरटनले ३७ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। बलिङमा ओभरटनसँगै अंशुल कम्बोज र शिवम दुबेले १-१ विकेट लिए।
चेन्नई यसअघि राजस्थान रोयल्स र पञ्जाब किंग्ससँग पनि पराजित भइसकेको छ।
अर्कोतर्फ, बैंगलुरूले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई हराउँदै राम्रो शुरूआत गरेको थियो।




