Nidan Media

सभामुख डीपी अर्यालले लिए शपथ, सोमबारदेखि नै संसद सम्हाल्ने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीलत निवासमा आइतबार दिउँसो आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई सभामुखको शपथ गराएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, कार्यवाहक प्रधानन्यायाधीश लगायतको उपस्थिति रहेको थियो ।

शपथ ग्रहण गरेसँगै अर्यालले सोमबार बस्ने प्रतिनिधि सभाको बैठकदेखि नै संसद सम्हाल्ने छन् । अर्याल आइतबार बिहान सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए ।

एकल उम्मेदवारी परेकाले सभाको अध्यक्षता गरेका संसदका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

त्यसअघि बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा अर्थमन्त्री स्वर्णिम वाग्ले र कानून मन्त्री सोविता गौमतले समर्थन गर्दै आफ्नो धारणा राखेका थिए ।

अर्थमन्त्री वाग्लेले २०४७ सालदेखिका सभामुख दमननाथ ढुङ्गानादेखि हालसम्मका सभामुखको भूमिका र योगदानलाई स्मरण गर्दै संसदलाई जीवन्त र सन्तुलित बनाउन अब निर्वाचिन हुने सभामुख अर्यालले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा अर्याल काठमाडौँ क्षेत्र नम्बर–९ बाट विजयी भएका थिए । उनी ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सांसद बनेका थिए । त्यसपछि उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.