काठमाडौँ। नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागू हुनेगरी अण्डाको मूल्य वृद्धि गरेको छ। संघले सबै प्रकारका अण्डामा प्रतिक्रेट १५ रुपैयाँ बढाएको जनाएको हो।
संघका अनुसार अब एक्सएल (ठूलो) अण्डाको मूल्य प्रतिक्रेट ४७५ रुपैयाँ पुगेको छ, जुन यसअघि ४६० रुपैयाँ थियो।
यस्तै ठूलो अण्डा ४५० रुपैयाँ पुगेको छ (पहिले ४३५ रुपैयाँ) भने मिडियम अण्डा ४०० रुपैयाँ पुगेको छ (पहिले ३८५ रुपैयाँ)।
संघले अण्डा उत्पादक किसानसँगको छलफल तथा कार्यसमिति बैठकको निर्णयअनुसार चैत २२ गतेदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य निर्धारण गरिएको जनाएको छ। मूल्य निर्धारणका लागि चितवनलाई आधार मानिएको छ।
संघले देशभरका किसान तथा व्यवसायीलाई सोही मूल्यअनुसार बिक्री–वितरण गर्न आग्रह गरेको छ। चितवनबाट अन्य जिल्लामा अण्डा ढुवानी गर्दा भाडा, कार्टुन र क्रेट खर्चबापत थप १४५ रुपैयाँ लाग्ने पनि जनाएको छ।
संघका अनुसार ढुवानी खर्च र प्याकेजिङ सामग्री महँगो हुनु मूल्यवृद्धिको प्रमुख कारण हो। साथै, गर्मी मौसममा उत्पादन घट्ने भएकाले पनि अण्डाको मूल्य बढ्ने प्रवृत्ति देखिन्छ।
संघका सचिव मदन पोखरेलले बजार स्थिरता कायम राख्न र किसानको उत्पादन लागत सुरक्षित गर्न मूल्य समायोजन गरिएको बताए।
तर उपभोक्ता स्तरमा भने मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको खर्च अझ बढ्ने संकेत देखिएको छ।
पछिल्लो समय खाद्यान्न तथा उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धिले महँगीको दबाब बढिरहेका बेला अण्डाको भाउ वृद्धि उपभोक्ताका लागि थप चुनौती बन्ने देखिन्छ।





