काठमाडौँ। कानूनमन्त्री सोविता गौतमले वर्तमान प्रतिनिधिसभा जनताको मुद्दामा केन्द्रित हुनुपर्ने बताएकी छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालको समर्थनमा धारणा राख्दै उनले संसदलाई समाधानमुखी, उत्तरदायी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिइन्।
उनले संसदमा नयाँ ऊर्जा लिएर आएका सांसद र दीर्घ अनुभव भएका अग्रजहरूको समिश्रणले संस्थालाई अझ परिपक्व बनाउने अवसर रहेको उल्लेख गरिन्। “यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्छ,” उनले भनिन्।
गौतमले बहस केवल औपचारिकतामा सीमित भए जनविश्वास कमजोर हुने चेतावनी दिँदै लोकतन्त्रको सार परिणाममा देखिनुपर्ने बताइन्।
“बहस अर्थपूर्ण र उत्तरदायी हुनुपर्छ, नत्र जनताको विश्वास कमजोर हुँदै जान्छ,” उनले भनिन्।
उनको अभिव्यक्तिले नयाँ राजनीतिक परिवेशमा संसदप्रति जनअपेक्षा उच्च रहेको संकेत गर्छ। तर व्यवहारमा दलगत ध्रुवीकरण तोड्दै परिणाममुखी संसद सञ्चालन गर्न सकिने वा नसकिने भन्ने विषय आगामी कार्यप्रदर्शनले निर्धारण गर्नेछ।





