काठमाडौँ । संघीय संसद् सचिवालयले सभामुख पदका लागि तोकेको समयावधिमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) को मात्रै उम्मेद्वारी परेको छ।
सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार अर्याल एक्लै उम्मेद्वार बनेका हुन्। सचिवालयले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय निर्धारण गरेको थियो।
सोही अवधिमा रवि लामिछाने प्रस्तावक तथा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनील लम्साल समर्थकका रूपमा राखी अर्यालले उम्मेद्वारी दर्ता गराएका हुन्।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको एक सय ८२ सिट रहेकाले अर्यालको सभामुखमा निर्वाचित हुने निश्चित भएको छ। उनलाई आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाट निर्विरोध रूपमा सभामुख घोषणा गरिनेछ।
मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै अर्यालले आफू संविधान र कानूनको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने, “हामीसँग संविधान र कानून छ। सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानूनले नै निर्धारण गरेका छन्, म त्यही अनुसार अघि बढ्नेछु।”
उनले प्रक्रिया पूरा भई जिम्मेवारी सम्हाल्ने अवस्थामा पुगेमा संविधान, कानून, जनताको हित र राष्ट्रियताको पक्षमा रहेर काम गर्ने स्पष्ट पारे। साथै, व्यवस्थापिकाले गर्नुपर्ने कामहरू न्यायसम्मत रूपमा अघि बढाउने उनको भनाइ छ।
उनले भने, “प्रक्रिया पूरा भएर जिम्मेवारीमा पुगेपछि नेपालको संविधान, कानून, जनताको हित र राष्ट्रियताको पक्षमा व्यवस्थापिकाले गर्नुपर्ने कामहरू न्यायसम्मत रूपमा अघि बढाउनेछु।”





