काठमाडौँ । प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया आज शुरू हुँदैछ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ ।
सचिवालयले उम्मेदवारको नामावली दिउँसो २ः३० बजे सार्वजनिक गर्ने जनाएको छ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ अनुसार सभामुखको निर्वाचन चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा हुने मिति ज्येष्ठ सदस्यले तोकेको छ ।
यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले अर्यालको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
प्रतिनिधि सभामा रास्वपाको स्पष्ट बहुमत रहेकोले अर्यालको निर्वाचित हुने पक्का छ ।
अर्यालले यसअघि रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए।
सचिवालयका अनुसार यदि एकभन्दा बढी उम्मेद्वारी दर्ता भएमा निर्वाचन प्रक्रिया चैत २२ गतेको बैठकमा अघि बढ्नेछ ।





