काठमाडौँ । चलचित्र ‘रोल नं १’ को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण कम्पनी सेभेन सिज सिनेमाले आगामी वर्ष जेठ १५ (गणतन्त्र दिवस) देखि प्रदर्शनमा ल्याउने तयारीसहित दुईटा पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरहरूले ग्रामीण परिवेश, अभावबीचको संघर्ष र शिक्षाप्रतिको आकांक्षालाई केन्द्रमा राखेका छन्।
एक पोस्टरमा बाल-कलाकार निर्भिक रेग्मीका साथ अभिनेता मुकुन भुसाल र अभिनेत्री रेणु योगी ग्रामीण भेषभुषामा देखिएका छन्, जहाँ अभिभावकले छोराको शिक्षाका लागि गरेको संघर्ष चित्रित गरिएको छ।
अर्को पोस्टरमा बालक बुबाको पिठ्युँमा सुतिरहेको भावनात्मक दृश्य छ, जसले ग्रामीण परिवारमा शिक्षा हासिल गर्न भोग्नुपर्ने कठिनाइ र अभिभावकको त्याग झल्काउँछ।
‘हरेक विद्यार्थीको कथा’ ट्यागलाइन रहेको चलचित्रले ग्रामीण विद्यार्थीको यथार्थ र शैक्षिक सपनालाई प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ।
जोन योञ्जनको निर्देशनमा बनेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।
निर्माता विनोद पौडेल र जान्वी पौडेल रहेको चलचित्र नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ।




