काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको प्रतिवेदनअनुसार देशको बाह्य क्षेत्र उल्लेखनीय रूपमा सुदृढ देखिएको छ। विशेषगरी विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उच्च वृद्धि हुँदा विदेशी मुद्रा सञ्चिति र समग्र आर्थिक सन्तुलनमा सकारात्मक प्रभाव परेको छ।
प्रतिवेदनअनुसार फागुन मसान्तसम्म कुल १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो।
गत वर्ष यही अवधिमा रेमिट्यान्स वृद्धिदर ९.५ प्रतिशत मात्र रहेको थियो। फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड डलर पुगेको छ।
वैदेशिक रोजगारीतर्फ भने मिश्रित अवस्था देखिएको छ। समीक्षा अवधिमा २ लाख ७३ हजार ५३६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २ लाख ५१ हजार ९८५ जनाले पुनः श्रम स्वीकृति प्राप्त गरेका छन्।
खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ११ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ थियो। रेमिट्यान्समा आएको वृद्धिकै प्रभावले चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्ष यही अवधिमा चालु खाता बचत १ खर्ब ९७ अर्ब ३ करोड रुपैयाँ मात्र थियो।
त्यसैगरी, देशको समग्र शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्ष ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँ थियो।
प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी) पनि बढ्दै गएको देखिएको छ। फागुन मसान्तसम्म १० अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा ८ अर्ब ४७ करोड रुपैयाँ मात्र थियो।
यी सूचकहरूले नेपालको बाह्य क्षेत्र सुदृढ बन्दै गएको तथा वैदेशिक मुद्राका स्रोतहरू मजबुत हुँदै गएको स्पष्ट संकेत गरेको केन्द्रीय बैंकले जनाएको छ।




