Nidan Media

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा–हिमपात र तराईमा हुरीको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसममा बदली देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो सबै प्रदेशका हिमाली क्षेत्रसँगै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

गण्डकी र कर्णालीका हिमाली क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, तराईका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि औंल्याइएको छ ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहने पूर्वानुमान छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।

यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ भने अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाले तराईका केही क्षेत्रमा हुरीको सम्भावना रहेको भन्दै सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, पछिल्लो मौसमसम्बन्धी सूचना नियमित रूपमा अपडेट लिन पनि अनुरोध गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.