काठमाडौँ। नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बसेको पहिलो बैठकमा राष्ट्रिय एकता र लोकतन्त्रप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकमा बोल्दै उनले दल भिन्न भए पनि देश एउटै भएकाले कसैले देशमा रगत बगाउन नपरोस् भन्ने संकल्प गर्नुपर्ने बताए।
उनले भने, “डुबे सबै डुब्छौँ, उठे सबै उठ्छौँ। दल भिन्न होला तर देश एउटै हो। अब कसैले रगत बगाउन नपरोस्। फागुन २१ को निर्वाचनमा नेपालीहरूले लोकतन्त्रप्रतिको बलियो निष्ठा देखाउनु भएको छ।”
आङ्देम्बेले कांग्रेसको इतिहास र नेतृत्व क्षमतामा गर्व व्यक्त गर्दै विपक्षी दलसँग सहकार्यको भावना व्यक्त गरे।
उनले भने, “कुनै बेला कांग्रेसले अपनाएको बाटोमा विपक्षमा खरो उभिएर देश चल्दैन भन्ने मित्रहरूले नयाँ दल खोलेर संसदमा सबैभन्दा ठूलो दल बनेका छन्। नेपाली कांग्रेस दोस्रो दल भए पनि पार्टीले बोकेको सिद्धान्त र विचार अझ सबल बनेको छ।”
सांसदले कांग्रेसको जिम्मेवार प्रतिपक्षको भूमिका र हरेक परिवर्तनको नेतृत्वमा पार्टीको योगदानमा जोड दिए।
उनले भदौ २३ र २४ को जेन-जी आन्दोलन र त्यसपछि बनाइएको छानबिन आयोगको प्रतिवेदनलाई पनि लक्षित गर्दै प्रश्न उठाए।
उनले भने, “हाम्रो संसद भवन भदौ २४ गते खरानी भयो। किन संसद भवन जल्यो, सिंहदरबार ध्वस्त बनाइयो, अन्य संरचना नष्ट गरियो? सरकारले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। कांग्रेस दोषीलाई उम्कन दिन्छैन, निर्दोषलाई फँसाउँदैन।”
आङ्देम्बेले सरकारलाई कानून र प्रक्रियाको मर्यादा पालन गर्दै घटनाको सम्पूर्ण छानबिन गर्न ध्यानाकर्षण गराए।





