काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितका समस्या समाधानलाई उच्च प्राथमिकता दिएको बताएकी छन्।
सहकारी पीडितसँग प्रत्यक्ष छलफल गर्दै उनले यस्तो बताएकी हुन् ।
सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेको उनको भनाइ छ।
‘पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,’ उनले भनिन् ।
सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न चरणबद्ध रूपमा काम अघि बढाएको र विशेषगरी साना बचतकर्तालाई राहत दिने योजनामा केन्द्रित रहेको मन्त्री रावलको भनाइ छ।
मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखिरहेका छन् ।
लामो समयदेखि बचत फिर्ता नपाउँदा मारमा परेका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था सुनाउने अवसर पाएका छन्।
उक्त छलफलले सहकारी पीडितहरूको समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ।




