Nidan Media

इन्डोनेसियामा गयो ७.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प, समुद्री छाल आउन सक्ने चेतावनी

काठमाडौँ । इन्डोनेसियाको मोलुका सागर क्षेत्रमा आज बिहान ७.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ।

भूकम्पपछि इन्डोनेसियासहित आसपासका तटीय देशहरूमा सुनामीको जोखिम बढेको भन्दै सम्बन्धित निकायहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार बिहान ६:४८ बजे गएको भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको थियो। प्रारम्भमा ७.८ रेक्टरस्केल मापन गरिएको भूकम्पलाई पछि परिमार्जन गरी ७.४ कायम गरिएको हो।

भूकम्पलगत्तै हवाईस्थित सुनामी चेतावनी केन्द्रले केन्द्रविन्दुबाट करिब एक हजार किलोमिटर क्षेत्रभित्र पर्ने इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा समुद्री छाल आउन सक्ने सम्भावना औंल्याउँदै सचेत गराएको छ।

यसैबीच जापान मौसम विज्ञान एजेन्सीले पनि शिजुओका, ओकिनावा र होक्काइडो क्षेत्रमा समुद्री सतहमा सामान्य परिवर्तन हुन सक्ने जनाएको छ, यद्यपि ठूलो क्षतिको सम्भावना भने न्यून रहेको बताइएको छ।

स्थानीय खोज तथा उद्धार टोलीका अनुसार उत्तर सुलावेसीको मिनाहासा क्षेत्रकी ७० वर्षीया एक महिलाको भग्नावशेषले पुरिएर मृत्यु भएको छ। भूकम्पका कारण सुलावेसी टापुको उत्तरी भागस्थित मनाडो शहरमा एक भवन गम्भीर रूपमा क्षतिग्रस्त भएको छ।

सार्वजनिक भएका दृश्यहरूमा घरभित्रका सामान बाहिर छरिएको, धातु संरचनाहरू बाङ्गिएको र भग्नावशेष वरिपरि मानिसहरूको भीड देखिएको छ।

मुख्य भूकम्पपछि ५.५ र ५.२ रेक्टरस्केलका दुई पराकम्पसमेत गइसकेका छन्। इन्डोनेसियाको राष्ट्रिय भूगर्भ एजेन्सीले थप पराकम्पहरू आउन सक्ने चेतावनी दिँदै केही स्थानमा भवनमा क्षति पुगेको र मानिसहरू घाइते भएको जानकारी दिएको छ।

सर्वसाधारणलाई तटीय क्षेत्र तथा पहिरो जान सक्ने जोखिमयुक्त स्थानबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

आजको भूकम्पको केन्द्रविन्दु टेर्नेट र मनाडो शहरको बीच मोलुका सागरमा परेको हो। टेर्नेट मालुकु टापु समूहमा पर्ने सानो टापु हो भने मनाडो सुलावेसी टापुको प्रमुख शहर हो।

मोलुका क्षेत्र सानो भए पनि घना बस्ती भएको क्षेत्र मानिन्छ, जहाँ दुई लाखभन्दा बढी जनसंख्या बसोबास गर्छ। इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ बारम्बार भूकम्प तथा ज्वालामुखी गतिविधि हुने गर्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.