काठमाडौँ । हिन्दू धर्मावलम्बीहरूले आज देशभर हनुमान जन्मजयन्ती श्रद्धा र भक्तिभावका साथ मनाइरहेका छन्।
हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा भगवान् हनुमानको विशेष पूजा–आराधना गर्ने परम्परा रहिआएको छ। धार्मिक विश्वासअनुसार आजको दिन विधिपूर्वक पूजा गरेमा बल, बुद्धि र विद्या प्राप्त हुनुका साथै दुःख, कष्ट तथा सङ्कटबाट मुक्ति मिल्ने जनविश्वास छ।
यस अवसरमा राजधानी काठमाडौंसहित देशभरका हनुमान मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
विशेषगरी हनुमानढोका दरबार परिसरमा रहेको हनुमान मूर्ति, पशुपतिनाथ मन्दिर क्षेत्रभित्रको हनुमान मन्दिर तथा गोकर्णेश्वर नगरपालिकास्थित पञ्चमुखी हनुमान मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।
हनुमानढोका दरबारको नासलचोक नजिक रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने परम्पराअनुसार सर्वसाधारणलाई प्रत्यक्ष पूजा गर्न नदिई पुजारीमार्फत मात्रै पूजा गर्ने चलन रहिआएको छ।
पर्वको अवसरमा श्रद्धालुहरूले बिहानै पवित्र नदी तथा जलाशयमा स्नान गरी व्रत बस्ने, हनुमान चालीसा पाठ गर्ने तथा विभिन्न धार्मिक अनुष्ठान गर्ने गरेका छन्।
हनुमान जन्मजयन्तीले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, सहिष्णुता र एकताको सन्देश फैलाउने विश्वास गरिन्छ।




