काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै नयाँ सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरू हुँदैछ।
सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजे प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ। रामचन्द्र पौडेलले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानबमोजिम सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।
संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्तिसहित सम्पूर्ण तयारी पूरा भइसकेको छ। राष्ट्रियसभा बैठक भने सचिवालयस्थित आफ्नै कक्षमा बस्नेछ।
संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद् अधिवेशन बोलाउनुपर्ने प्रावधान छ। निर्वाचन आयोग नेपालले चैत ५ गते निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट बहुमत देखिएको छ। उक्त पार्टीका १८२ सांसद रहेका छन् भने नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र एक स्वतन्त्र सांसद रहेका छन्।
आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ। तीमध्ये ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ रहेका छन्।
बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य एवं सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको विवरण पढेर सुनाउनेछन्।
यसैगरी, प्रतिनिधिसभाले आफ्नै नियमावली नबनाएसम्म ‘प्रतिनिधिसभा नियमावली, २०७९’ बमोजिम कार्य सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार उक्त प्रस्ताव बैठकमा स्वीकृतिका लागि पेश गरिनेछ।
बैठकमा सभामुख अनुपस्थित हुँदा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिनेछ भने अधिवेशन प्रारम्भको अवसरमा दलगत रूपमा सांसदहरूले मन्तव्य दिने कार्यक्रम पनि तय गरिएको छ।
त्यस्तै, सभामुखले प्रतिनिधिसभा नियमावलीअनुसार सभामुख पदको निर्वाचनको मिति तोक्नेछन्।
बैठकको अन्त्यमा संविधानसभा तथा संसद्का पूर्व सदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोराप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ।




