काठमाडौँ । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशभर मौसममा परिवर्तन देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहेको छ भने बाँकी स्थानमा आंशिक बदली कायम छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ। त्यसकारण हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ।
विशेषगरी गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
हिमाली क्षेत्रमा सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक जानकारी लिइरहन महाशाखाले आग्रह गरेको छ।





