काठमाडौँ। यसवर्षको एसईई परीक्षा आजबाट शुरू हुँदैछ।
परीक्षामा देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षामा देशभरबाट पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी बोर्डले जनाएको छ ।
जसमध्ये टेक्निकलबाट १६ हजार ३१२ जनाले परीक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परीक्षा दिन लागेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजे ७७ ओटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा हुनेछ ।
एसईईमा गण्डकी प्रदेशमा ४३ हजार तीन सय ५५ विद्यार्थी सहभागी हुने भएका छन्।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विकास महाशाखा पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्।
जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार आठ सय ४३ तथा सबैभन्दा कम मनाङमा ३४ र मुस्ताङमा एक सय ८६ जना विद्यार्थी एसईईमा सहभागी हुनेछन्।
यसैगरी तनहुँमा छ हजार एक सय ५५, नवलपुरमा छ हजार सा सय १२, स्याङ्जामा चार हजार दुई सय ८८ र बागलुङमा चार हजार दुई सय ३९ विद्यार्थीले एसईई दिँदैछन्।
यस्तै गोरखामा तीन हजार सात सय ९७, लमजुङमा दुई हजार आठ सय ६२, पर्वतमा दुई हजार दुई सय १७ र म्याग्दीमा दुई हजार २२ विद्यार्थी एसईईमा सहभागी हुनेछन् ।
प्रदेशभर एक सय ८७ ओटा परीक्षा केन्द्र तोकिएको छ भने सबै केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिसकिएको जनाइएको छ ।
परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ।





