काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।
दलको नेताका लागि दाबी गरेका सुहाङ नेम्वाङले प्रस्तावक र समर्थक नपाएपछि बादल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
नेता चयनपछि बादलले निकट भविष्यमा राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिने जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम यही चैत २१ गते गर्ने तय गरिएको छ ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकको गिरफ्तारीको विरोधमा प्रस्तावसमेत पारित गरेको उनले बताए ।
साथै, प्रतिनिधिसभा र राष्ट्रिय सभामा पार्टीका एजेन्डा सशक्त रूपमा उठाउने निर्णय भएको पनि उनले उल्लेख गरे ।
‘हामीले घोषणापत्रमा गरेका प्रतिबद्धताहरू संसदमा उठाउनेछौँ र प्रतिपक्षको भूमिकामा सजग पहरेदारका रूपमा काम गर्नेछौँ,’ बादलले भने ।
यसैबीच, नेता चयन प्रक्रियाबारे प्रतिक्रिया दिँदै सुहाङ नेम्वाङले आफूले अपेक्षा गरेअनुसार परिणाम नआएको बताए ।
उनले संसदमा सत्ता–प्रतिपक्षभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए ।
‘संसदमा सत्तापक्ष वा प्रतिपक्षको सोचभन्दा माथि उठेर देशको हितमा काम गर्नुपर्छ । सरकारका राम्रा काममा सहयोग र कमजोरीमा रचनात्मक खबरदारी आवश्यक हुन्छ,’ उनले भने ।
नेम्वाङले नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने धारणा राख्दै दलको नेतामा दाबी गरेका थिए ।
प्रतिनिधिसभामा एमालेका २५ सांसद रहेका छन् ।





