काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको प्रि–मनसुन अवधिमा हालसम्म औसतभन्दा बढी वर्षा भएको छ।
विभागका मौसमविद् बिनु महर्जनका अनुसार फागुन १५ देखि जेठ १५ सम्मको अवधिलाई प्रि–मनसुन मानिन्छ। यस वर्ष मङ्गलबारसम्मको अवधिमा सामान्य वर्षाको तुलनामा बढी पानी परिसकेको छ।
सामान्यतया यस अवधिमा २० प्रतिशत वर्षा हुने गरेकोमा यस वर्ष करिब २९.५ प्रतिशत वर्षा भइसकेको छ। कुल २२६ मिलिमिटर वर्षा हुनुपर्नेमा मङ्गलबारसम्म ७७.५ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।
हालको मौसम प्रणालीमा सामान्य बदली देखिए पनि काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम मङ्गलबार २२ डिग्री सेल्सियस रहेकामा बुधबार २५ डिग्री सेल्सियस पुगेको महर्जनले जानकारी दिए।
विभागका अनुसार बिहीबारसम्म देशभर मौसम सामान्यतया सफा रहनेछ। तर, शुक्रबारदेखि विभिन्न भागमा पुनः वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ।




