बारा । बारामा बुधबार भएको दुई मोटरसाइकल दुर्घटनामा दुवै चालकको ज्यान गएको छ। मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका वडा नं ७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका वडा नं ६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ छन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका ढुङ्गानालाई उपचारका लागि वीरगञ्जस्थित एलएस न्यूरो अस्पताल गण्डक र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्र.२-०४२प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्र.३-००४प ३६६१ नम्बरको मोटरसाइकल निजगढ नगरपालिका-९ स्थित पश्चिम लच्कामा आपसमा ठोक्किँएर दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले दुर्घटनाबारे जानकारी दिँदै घटनाको थप अनुसन्धान भइरहेको बताए।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए ।





