Nidan Media

आयल निगमलाई १५ दिनमै पाँच अर्ब घाटा, हवाई इन्धनको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगम पछिल्लो १५ दिनमै करिब पाँच अर्ब रुपैयाँ घाटामा गएको छ । निगमले सार्वजनिक गरेको विज्ञप्तिअनुसार पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या र मूल्य वृद्धि हुँदा यस्तो अवस्था आएको हो ।

द्वन्द्वका कारण कच्चा तेलको मूल्य आकासिँदा निगमले इन्डियन आयल कर्पोरेशनबाट उच्च दरमा इन्धन खरिद गर्नुपरेको जनाएको छ । तर, स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसक्दा निगमले ठूलो घाटा व्यहोर्नुपरेको हो ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि जारी रहे आगामी दिनमा घाटा अझ बढ्ने सम्भावना छ ।

हाल निगमको मूल्य स्थिरीकरण कोषमा करिब १९ अर्ब रुपैयाँ सञ्चित रहेको छ । उक्त कोषबाट घाटा पूर्ति गरिँदै आए पनि दीर्घकालीन रूपमा धान्न कठिन हुने संकेत गरिएको छ ।

निगमका अनुसार हालको मूल्य संरचनामा पेट्रोल, डिजेल र एलपी ग्यासमा अझै घाटा कायम छ । उपभोक्ताको हितलाई ध्यानमा राख्दै यी इन्धनको खुद्रा मूल्य भने यथावत् राखिएको छ ।

यसैबीच, निगमले हवाई इन्धनको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ । आन्तरिक उडानतर्फ प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ८१९ अमेरिकी डलरले वृद्धि गरी १,७८५ डलर कायम गरिएको छ भने पोखरा र भैरहवामा ‘ब्रेक इभन प्वाइन्ट’मा मूल्य निर्धारण गरिएको छ ।

निगमले इन्धन आपूर्ति प्रणाली भने सहज रहेको र देशभर पर्याप्त मौज्दात रहेको जनाएको छ । साथै, उपभोक्तालाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरिएको छ ।

उता, अन्तर्राष्ट्रिय प्रभावका रूपमा भारतमा पनि व्यावसायिक एलपीजी ग्यासको मूल्य बढेको छ । खाडी क्षेत्रका तेल प्रशोधन केन्द्रहरूमा आक्रमण र हर्मुज नाका प्रभावित हुँदा कच्चा तेलको मूल्य बढेको हो ।

दिल्लीमा १९ केजी क्षमताको व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य १९५.५० भारुले बढेर २,०७८ भारु पुगेको छ भने ५ केजी सिलिन्डर ५४९ भारु कायम भएको छ । कोलकातामा पनि १९ केजी सिलिन्डरको मूल्य २१८ भारुले वृद्धि भएको छ ।

यद्यपि, घरेलु प्रयोजनका लागि प्रयोग हुने १४.२ केजी एलपीजी सिलिन्डरको मूल्य भने यथावत् राखिएको छ । साथै, हवाई इन्धन (एटीएफ) को मूल्य पनि उल्लेख्य रूपमा बढेको छ, जसले विश्वव्यापी ऊर्जा बजारमा दबाब बढाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.