काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले बजेट तर्जुमा मार्गदर्शन तयार गरी सबै मन्त्रालयमा पठाएको छ ।
संविधानअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
सोहीअनुसार बजेट तयारीलाई तीव्रता दिँदै अर्थ मन्त्रालयले मार्गदर्शन तयार पारेको हो ।
अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार मार्गदर्शनमा आगामी बजेटका प्राथमिकताका विषयहरू समेटिएका छन् ।
आगामी वर्षको बजेटमा विशेषगरी आर्थिक अनुशासन कायम गर्ने र खर्चमा मितव्ययिता अपनाउने विषयलाई उच्च प्राथमिकता दिइएको छ ।
उनले सबै मन्त्रालयलाई खर्चमा अनुशासन कायम गर्न तथा आवश्यकताअनुसार मात्र बजेट प्रस्ताव गर्न निर्देशन दिइएको जानकारी दिए ।
मन्त्रालयहरूले बजेट प्रस्ताव गर्दा तयारी पूरा भएका, तत्काल ठेक्का प्रक्रियामा जान सकिने तथा ‘प्रोजेक्ट बैंक’मा सूचीकृत भइसकेका आयोजनालाई मात्र समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।




