काठमाडौँ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आगामी २०८३ वैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले दोस्रो चरणअन्तर्गत ३४ लाख ७४ हजार ९०० कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा बिक्रीमा ल्याउन लागेको हो ।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर बाँडफाँट भइसकेको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोहीमध्ये बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन अवधि वैशाख ६ गतेसम्म कायम रहनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख १६ गतेसम्म म्याद थपिने कम्पनीले जनाएको छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सिआस्बा प्रणालीमार्फत नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको छ ।





