Nidan Media

अध्यक्ष ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्ने एमालको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि विभिन्न तहमा चरणबद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो।

महासचिव शंकर पोखरेलका अनुसार पहिलो चरणमा चैत २४ गते सबै जिल्ला कमिटीमार्फत वृहत् कार्यकर्ता भेला आयोजना गरिनेछ।

त्यसपछि पालिका, वडा र प्रदेश तह हुँदै आन्दोलनलाई विस्तार गर्दै राजधानी केन्द्रित प्रदर्शन गर्ने रणनीति तय गरिएको छ।

निर्धारित कार्यक्रमअनुसार वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन र वैशाख १२ गते काठमाडौँमा केन्द्रीय विरोध सभा आयोजना गरिने एमालेले जनाएको छ।

एमालेले यसलाई ‘राजनीतिक प्रतिशोधविरुद्धको आन्दोलन’को रूपमा प्रस्तुत गरेको छ।

ओली पक्राउ प्रकरणले सत्तापक्ष र विपक्षीबीचको दूरी झन् बढ्ने देखिएको छ।

संवादको वातावरण कमजोर बन्दै गएको अवस्थामा सडक आन्दोलनले राजनीतिक ध्रुवीकरणलाई थप गहिरो बनाउने सम्भावना छ।

एमालेको देशव्यापी प्रदर्शन कार्यक्रमले अबको केही साता नेपालको राजनीति आन्दोलनमुखी हुने संकेत दिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.