काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रमा बढ्दै गएको अवैध गतिविधि तथा तस्करी नियन्त्रण गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।
मंगलबार गृहमन्त्री गुरुङ र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहितको टोलीबीच भएको छलफलमा मन्त्री गुरुङले यस्तो निर्देशन दिएका हुन् ।
सीमाक्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न सीमा गस्तीलाई थप कडाइका साथ सञ्चालन गर्ने निर्णय गरिएको बताइन्छ।
गृहमन्त्री गुरुङले सुरक्षा निकायलाई सतर्कता बढाउन, निगरानी प्रणाली सुदृढ गर्न र आवश्यक परे थप स्रोत परिचालन गर्न निर्देशन दिए।
सरकारले सीमा सुरक्षालाई थप सुदृढ बनाउँदै अवैध गतिविधि नियन्त्रणमार्फत शान्ति सुरक्षा कायम गर्ने लक्ष्य लिएको जनाएको छ।
सोही छलफलमा विपद् व्यवस्थापन र सीमा सुरक्षालाई केन्द्रमा राख्दै विभिन्न विषयमा विस्तृत समीक्षा गरिएको थियो।
छलफलमा विशेषगरी सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी, स्रोत-साधनको व्यवस्थापन तथा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
साथै, आपतकालीन अवस्थामा छिटो प्रतिक्रिया दिन सक्ने क्षमताको विकास गर्ने विषयमा समेत ध्यानाकर्षण गराइएको थियो।





