Nidan Media

गरिब परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्दै पोखरा महानगरपालिका

पोखरा । पोखरा महानगरपालिकाले अति तथा मध्यम गरिब घरपरिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसका लागि महानगरपालिका र स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशबीच सम्झौता सम्पन्न भइसकेको छ।

महानगरपालिकाले ‘अति तथा मध्यम गरिब घरपरिवारको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ तथा स्वास्थ्य बीमा ऐन र नियमावलीअनुसार कार्यक्रम कार्यान्वयन गर्न लागेको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त सूचीका आधारमा २०८३ जेठ मसान्तसम्म लक्षित वर्गका नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गरिने जनाइएको छ।

स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार पाँच जनासम्म सदस्य भएको परिवारका लागि वार्षिक रु तीन हजार ५०० र पाँचभन्दा बढी सदस्य भएमा प्रत्येक थप सदस्यका लागि रु. सात सय महानगरपालिकाले बीमा बोर्डलाई उपलब्ध गराउनेछ।

निःशुल्क बीमा कार्यक्रममा सहभागी हुन वा नवीकरण गर्न सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब परिवारको सिफारिससहित दर्ता फारम भरी महानगरपालिकाको स्वास्थ्य महाशाखामा आवेदन दिनुपर्नेछ। प्राप्त विवरण आवश्यक प्रक्रिया पूरा गरी बीमा बोर्डमा पठाइने र त्यसपछि स्वास्थ्य बीमा सूचना प्रणालीमा प्रविष्ट गरिनेछ।

यस कार्यक्रमले महानगर क्षेत्रभित्र गरिबी रेखामुनिका नागरिकको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

नगर प्रमुख धनराज आचार्यले आर्थिक रूपमा कमजोर नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन यो कार्यक्रमले ठूलो राहत दिने बताए। साथै, महानगरपालिका सबै नगरवासीको स्वास्थ्य सुरक्षा र प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको उनको भनाइ छ।

महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलका अनुसार कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि दर्ता सहयोगीलाई आवश्यक अभिमुखीकरण गरिनेछ र लक्षित वर्गलाई लाभ लिन आग्रह गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.