Nidan Media

पत्रकार महासंघद्वारा तीन पत्रकारसहित सहारा क्लब पुरस्कृत

पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो ७१औँ स्थापना दिवसको अवसरमा पोखराका तीन पत्रकार र एक संस्थालाई सम्मान र पुरस्कार प्रदान गरेको छ।

महाासंघले २०५५ सालदेखि प्रदान गर्दै आएको पोखरा पत्रकारिता सम्मानअन्तर्गत २०८१ बाट पत्रकार राजबहादुर गुरुङलाई नगद ५० हजार ५५५ नगद पुरस्कारसहित सम्मान गरिएको छ।

गुरुङ हाल यूनाइटेड खबर अनलाइनमा आवद्ध छन् र तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहिरहेका छन्।

पोखरा पत्रकारिता सम्मानअन्तर्गत २०८२ बाट भने संस्थागत योगदानको रूपमा पोखराको सहारा क्लबलाई सम्मानपत्र प्रदान गरिएको छ।

यस्तै, स्व. जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कारअन्तर्गत २०८१ बाट पत्रकार फडिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ बाट एकराज गिरीलाई पुरस्कृत गरिएको छ।

पुरस्कारको राशि २५ हजार ५५५ रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रसहित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र स्व. सिग्देल परिवारले उनीहरूलाई प्रदान गरे।

अधिकारी हाल गोरखापत्र तथा समाधान दैनिक र गिरी सफल न्यूजमा क्रियाशील छन्।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले आमनागरिकसम्म सत्यतथ्य सूचना पुर्याउन कठिन भएको वर्तमान अवस्थामा जिम्मेवार र मर्यादित पत्रकारिताको महत्व औंल्याए।

उनले शक्तिशाली सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्न सक्ने संकेत गर्दै पत्रकारहरूले निष्पक्ष प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, अग्रज पत्रकार कुसुमकेशव पराजुलीलगायतले बाेलेका थिए ।

महासंघका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधव रेग्मीले स्वागत र सचिव भूपाल गुरुङले  संचालन गरेका थिए।

नेपाल पत्रकार महासंघले यस वर्षको ७१औँ स्थापना दिवस “मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार: श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार” भन्ने नाराका साथ देशभरका शाखाहरूमा विभिन्न कार्यक्रम गर्दै मनाएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.