सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन आइतबार राति समाप्त भएको छ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले राति १२ बजेबाट अधिवेशन अन्त्य गरेको सभामुख नन्दा गुरुङले जानकारी दिइन्।
सभामुख गुरुङका अनुसार अधिवेशनमा प्रमुख कार्यहरूमा कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा व्यवस्था गर्न बनेको विधेयक, केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ संशोधन विधेयक पारित भएका छन्। साथै, हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन सम्बन्धी बुँदे संकल्पपत्र पनि सभामा प्रस्तुत गरिएको छ।
सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठक माघ १८ गतेदेखि चैत १५ गतेसम्म चलेको थियो।
यस अवधिमा दश ओटा बैठक बसेका थिए र कुल १३ घण्टा ४२ मिनेट समय व्यतित भएको सभामुखले उल्लेख गरिन्।





