काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायम रहेको छ। यसका कारण देशका पहाडी र हिमाली भूभागमा सामान्य बदली देखिएको छ भने अन्य स्थानमा आंशिक बदली रहेको मौसम पूर्वानुमान गरिएको छ।
अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो देशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा मधेससहित कोशी प्रदेशको तराई, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूले विशेषगरी पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेका छन्।




