काठमाडौँ । तेहरानको पूर्वी र उत्तरपूर्वी क्षेत्रमा शनिबार राति श्रृंखलाबद्ध विस्फोट भएका छन्।
घटनापछि इरानले आफ्नो पूर्वाधारमा आक्रमण भए अमेरिका र इजरायलविरुद्ध कडा प्रतिशोध लिने चेतावनी दिएको छ।
चाइना मिडिया ग्रुप (सीएमजी)ले सार्वजनिक गरेको भिडियोमा राजधानीको आकाशमा लगातार विस्फोट देखिएको छ।
सीएमजीका संवाददाता ली जियानानका अनुसार स्थानीय समय अनुसार राति करिब ९ः३० बजे विस्फोट भएको हो।
रिपोर्टअनुसार, शनिबार बिहानदेखि तेहरानमा अमेरिका र इजरायलले पटक-पटक हवाई आक्रमण गरेको दाबी गरिएको छ।
यसैबीच इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)ले ‘अपरेशन ट्रु प्रमिस-४’ अन्तर्गत ८५औँ चरणको आक्रमण शुरू गरिसकेको जनाएको छ।
सो क्रममा अमेरिका र इजरायलसँग सम्बन्धित लक्ष्यहरूमा मिसाइल र ड्रोन प्रयोग गरिएको बताइएको छ।
आईआरजीसीले दुबईस्थित युक्रेनी एन्टी-ड्रोन उपकरण डिपो ध्वस्त पारेको दाबी गरेको छ, जुन अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग भइरहेको बताइएको छ।
यसैगरी, इरानका शीर्ष सैन्य निकाय खातम अल-अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फाघारीले उक्त आक्रमण संयुक्त रूपमा आईआरजीसीको वायुसेना र नौसेनाले गरेको जानकारी दिएका छन्।
यसबीच, इरानको संसदका सभामुख मोहम्मद बागेर गालिबाफले इजरायलको सम्भावित आक्रमणप्रति प्रतिक्रिया दिँदै बलियो प्रतिआक्रमणले इजरायली शासनको पतनलाई तीव्र बनाउने चेतावनी दिएका छन्।





