काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँग सम्बन्धित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा सम्बन्धी अभियोगपत्र फिर्ताविरुद्ध दायर रिटको सुनुवाइ आज हुँदैछ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि सो रिट ‘हेर्दाहेर्दै’ राखेर सुनुवाइ भइरहेको छ।
महान्यायाधिवक्ता कार्यालयकी सविता भण्डारीले लामिछानेमाथि विचाराधीन विभिन्न जिल्लाका सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।
महान्यायाधिवक्ताको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानून विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका हुन्।
भण्डारीले पुस ३० गते सदर गरेको सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’मा लामिछानेलाई सहकारी ठगीमा मात्रै मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन निर्देशन दिइएको थियो।





