काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो ।
त्यसकै आधारमा खड्कालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रमुख मनोज केसीले जानकारी दिए।
भदौ २४ गते खड्काको निवासमा भएको आगजनी घटनापछि नेपाली रुपैयाँसँगै विभिन्न विदेशी मुद्राहरू फेला परेको स्रोतले जनाएको छ।
उनीमाथि नेपाल स्काउटको जग्गा हिनामिना गरेको आरोपसमेत लागेको छ।
यसैबीच, बालेन्द्र शाह नेतृत्वको सरकारले गठनलगत्तै मन्त्रिपरिषद्बाट धमाधम निर्णयहरू गर्दै प्रशासनिक सक्रियता बढाएको छ।
सरकारका प्राथमिकतामा सुशासन, पारदर्शिता, सेवा प्रवाह सुधार र विकास निर्माणलाई तीव्रता दिने विषय रहेका छन्।
सरकारी निकायहरूलाई प्रभावकारी रूपमा काम गर्न निर्देशन दिइएको बताइएको छ।
यता, केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि देशको राजनीतिक वातावरण थप तातिएको छ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ।
ओली पक्राउको विरोधमा नेकपा एमालेले देशव्यापी आन्दोलन घोषणा गर्दै ७७ ओटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अघि बढाएको छ।
उता लेखक पक्राउप्रति नेपाली कांग्रेसले असन्तुष्टि जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ।
खड्का पक्राउ, ओली–लेखक प्रकरण र नयाँ सरकारका तीव्र निर्णयहरूले समग्र राजनीतिक अवस्था थप संवेदनशील बन्दै गएको विश्लेषण गरिएको छ।




