काठमाडौँ । देशका अधिकांश स्थानमा पछिल्ला दिनहरूमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारको तुलनामा शनिबार केही कम वर्षा भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा छिटपुट वर्षा भएको छ भने अन्य प्रदेशका अधिकांश जिल्लामा मध्यमसम्म वर्षा भएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार मुलुकका अधिकांश स्थानमा ३० देखि ४५ मिलिमिटरसम्म वर्षा मापन गरिएको छ। विशेषगरी पूर्वी क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको उनले जानकारी दिए।
काठमाडौँ उपत्यकामा पनि साँझ हल्का वर्षा भएको र २० मिलिमिटरभन्दा माथि वर्षा मापन भएको बताइएको छ।
विभागका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव कायम छ। यही प्रभावका कारण मौसममा बदली र वर्षाको क्रम जारी रहेको हो।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार आइतबार पनि देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ। पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने उनले बताए।
उनका अनुसार अब विस्तारै वर्षा कम हुँदै जानेछ। तर केही स्थानमा चट्याङ, हावाहुरी तथा असिनासहित वर्षा हुने सम्भावना भने अझै कायमै रहनेछ।
यस वर्ष हिउँदमा अपेक्षाकृत कम वर्षा भए पनि प्रिमनसुनको अवधिमा भने विभिन्न मौसमी प्रणाली सक्रिय भई देशभर नियमितजसो वर्षा भइरहेको विभागले जनाएको छ।





