Nidan Media

कांग्रेसले भन्यो – दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याउनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे स्पष्ट धारणा सार्वजनिक गर्दै सरकारलाई निष्पक्ष छानबिन र विधिसम्मत कारबाही गर्न आग्रह गरेको छ।

पार्टीका प्रवक्ता देवराज चालिसेद्वारा जारी प्रेस विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनालाई लिएर पाँच बुँदे धारणा सार्वजनिक गरिएको हो।

कांग्रेसले ती घटनाको सत्यतथ्य बाहिर ल्याउन शुरूदेखि नै स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै आएको स्मरण गराएको छ।

विज्ञप्तिमा सरकारले अहिलेसम्म छानबिन प्रतिवेदन सार्वजनिक नगरेकोप्रति असन्तुष्टि जनाउँदै तत्काल सार्वजनिक गर्न माग गरिएको छ।

साथै, छानबिन प्रक्रियामा देखिएको कथित पक्षपातप्रति आपत्ति जनाउँदै यस्तो कदम विधिको शासन विपरीत हुने चेतावनी दिइएको छ।

कांग्रेसले ‘सेलेक्टिभ’ निर्णय प्रक्रियाले न्याय प्रणाली कमजोर बनाउने उल्लेख गर्दै दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ।

पार्टीले घटनालाई राजनीतिक रंग नदिई निष्पक्ष अनुसन्धानमार्फत पीडितलाई न्याय दिलाउन सरकारलाई आग्रह गरेको छ।

साथै कांग्रेसले सरकारलाई जिम्मेवार र संवेदनशील बन्न सुझाव दिँदै हतारमा गरिने निर्णयले देशलाई अस्थिरतातर्फ धकेल्न सक्ने चेतावनी दिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.